ओला: बाटोमा फस्दा फुरेको बिजनेस आइडिया, क्याबदेखि इलेक्ट्रिक स्कुटरसम्म, भारतमा धुम मचाउँदै

By Meenraj Basanta - 4:10 AM


 मीनराज बसन्त । 
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का दुई विद्यार्थी । भावेश अग्रवाल र अंकित भाटी । भावेश कम्प्युटर साइन्समा बीटेक र अंकित एमटेक प्लस बीटेक । 

भावेशले कलेज सकेपछि २ वर्षसम्म माइक्रोसफ्ट रिचर्स बैंगलोरमा काम गरे । काम गरिरहँदा उनको सपना भनेको जागिरभन्दा पनि उद्यमी बन्ने थियो । आफ्नो यही सपनालाई पछ्याउँदै उनले अनलाइन होलिडे र टुर प्लानिङको काम सुरु गरे । 

एकपटक भावेश बैंगलोरबाट बाँदीपुर जाँदै थिए, ट्याक्सीमा । अचानक ट्याक्सी बाटोमा फस्यो । अब ट्याक्सी नै फसेपछि के गर्नु ? ड्राइभरले बाटोमै रोक्यो । ड्राइभरलाई भाडा तिर्ने क्रममा उनले प्रश्न गरे कि बाटोमै छोडेपछि कसरी भाडा दिऊँ ? एकछिन यस विषयमा चर्काचर्की पनि भयो । तर, जसोतसो टर्यो पनि । 

भनिन्छ नि आवश्यकता नै आविष्कार हो । यो कुरा भावेशमा चरितार्थ हुनपुग्यो । आफूजस्तै अन्य मान्छेहरु पनि यसरी नै फस्ने गरेको उनले सम्झिए । उनीहरुले भोग्नुपरेका सास्ती, हैरानी अनुभूत गरे । अनि त उनलाई लाग्यो, यो देशमा एउटा असाधारण क्याब (ट्याक्सी) बुकिङको सम्भावना छ । 

यसरी उनले टुर एन्ड ट्राभल्सको आफ्नो व्यवसायलाई ट्याक्सी हेलिङ फर्ममा परिवर्तन गरे । यो कुरा सन् २०१० को हो । 

व्यवसाय परिवर्तन गरेसँगै उनले देखे कि एउटा ट्याक्सी बुकिङ सेवामा पनि कति धेरै सम्भावना छ । त्यसपछि त के ! गर्दै आइरहेको व्यवसायलाई भावेशले स्टार्ट–अप कम्पनीमा बदले । नाम राखे, ओला क्याब्स । अहिले भारतमा धुम मचाइरहेको ओलाको सुरुवाती कथा यही हो । 

यो यात्रामा भावेश एक्लो भने होइनन् । उनीसँगै कम्पनीका सहसंस्थापक हुन्, अंकित भाटी । 

पहिले त ट्राभल एजेन्ट बन्ने निर्णयमा उनीहरुका आमाबुवा खुसी थिएनन् । न यस्तो विचारमा सहमत थिए । जस्तो कि, हाम्रै नेपालका अधिकांश आमाबुवाले पनि स्वीकार गर्दैनन् । तर, जब यसका लागि पहिलो लगानी (स्न्यापडिलका संस्थापक कुणाल बहल, रेहान खान र अनुपम मित्तल) प्राप्त हुने भयो उनीहरुको आत्मबल बढ्यो । र, सपना पछ्याउने क्रममा दुई कदम चाल्न सहज भयो । 

‘कसैसँग बिजनेसका लागि कुनै नयाँ आइडिया हुन सक्छ’ भावेश भन्छन्, ‘तर, यसलाई सफलतापूर्वक चलाउन स्केलेबल मोडल हुनुपर्छ । यसैको आधारमा बिजनेस चल्छ ।’

ओला क्याब्स कम्पनीले कार किन्ने या भाडा लिने काम गरेन । बरु यसले थुप्रै ट्याक्सी ड्राइभरसँग पार्टनरसीप गर्यो । यस्तै पूरै सेट–अपमा आधुनिक प्रविधि जोड्यो । उक्त प्रविधिमार्फत सेवाग्राहीहरुले कल सेन्टर या एपमार्फत छोटो समयमै कार बुक गर्न सक्थे । बुकिङमा आधा या पूरै दिन भाडामा लिन सकिन्थ्यो । बाहिरका ट्याक्सीलाई पनि त्यो सुविधा थियो । 

कम्पनी स्थापना भएपछि ओला क्याब्सले सफ्ट बैंक कर्प र अन्य लगानीकर्ताहरुबाट लगानी जुटाइसकेको छ । क्याबले बेलाबेला ग्राहकका लागि औसत अटोरिक्साभन्दा कम भाडा लाग्ने अफर पनि ल्याएको थियो । ल्याई पनि रहन्छ । त्यो पनि प्रतिकिलोमिटर १० रुपैयाँको दरमा । 

यसरी ओलाको जन्म भएको थियो । 

यसरी केही गर्ने सपनालाई पछ्याउँदै गर्दा जन्मिएको राइड सेयरिङ कम्पनी ओलासँग करिब ५० लाख ट्याक्सी छन् । ती मिनी, प्राइम, लक्जरी गरी विभिन्न विकल्पमा उपलब्छ छन् । यसको भुक्तानी पनि विभिन्न माध्यमबाट गर्न सकिन्छ । 

२०१० मा सामान्यत तरिकाले सुरु भएको ओलाले विश्वका प्रतिद्वन्द्वी उबर र मेरु क्याबलाई उछिन्दै भारतमा बढ्दै गइरहेका नवउद्यममध्ये एक बनेको छ । यति मात्रै होइन अहिले कम्पनीको लागत ३० अर्ब (भारु) भन्दा बढी छ । २५० बढी सहरमा फैलिएको यो सञ्जालमा ३ हजार बढी ड्राइभरले रोजगारी पाएका छन् । 

सञ्चालनको ४ वर्ष अर्थात् सन् २०१४ मा आउँदा दैनिक डेढ लाख बुकिङ हुन्थ्यो । ओलासँग सोही वर्षमा पूरै भारतको ६० प्रतिशत बजारको सेयर थियो । 

ओला वित्तीय सेवा

नोभेम्बर २०१५ मा कम्पनीले मोबाइल पेमेन्ट र डिजिटल वालेट लन्च गर्यो । नाम दियो, ओलामनी । यसले इन्स्युरेन्स, क्रेडिट कार्ड, गाडी लोनजस्ता सेवा दिँदै आएको छ ।

ओला फुड्स

२०१७ सम्मको यात्रा गर्दा ओलाले फुड डेलिभरीको सिस्टम पनि ल्यायो । भारतकै फुडपान्डा नामक कम्पनीलाई प्राप्ति गरेर उसले फुड सर्भिस पनि दिन थाल्यो ।

 र, ओला कार र इलेक्ट्रिक स्कुटर

ओलाको यात्रा लम्बिँदै गइरहेको छ । यसै क्रममा उसले २०२१ मा भारतका ३० सहरमा ‘ओला कार’ लन्च गर्यो । यस्तै अहिले इलेक्टिक स्कुटर पनि लन्च गरिसकेको छ । भारतमा यसैको चर्चा छ । 

ओला इलेक्ट्रिक कम्पनीले आफ्नो कारोबारलाई थप विस्तार गर्न २० करोड डलर राशि जुटाएको छ । उसले फाल्कन एज र सफ्ट बैंक ग्रुप कर्पमार्फत यो राशि जुटाएको छ। 

यो फन्डपछि कम्पनीको कुल भ्यालुएसन ३ अर्ब डलर पुगेको छ । उसका अनुसार ‘मिसन इलेक्ट्रिक’ लाई अझै तीव्र रुपमा अगाडि बढाउनेछ । यस्तै सन् २०२५ पछि इलेक्ट्रिक मोटरसाइकल, मास मार्केट स्कुटर र इलेक्ट्रिक कार निर्माणमा पनि जोड दिने । 

१५ सेप्टेम्बर २०२१ बाट ओला इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री सुरु कम्पनीले पहिलो दिनमै ६ सय करोड बढीको स्कुटर बेचेको थियो । 

अहिले ओलाले दुइटा मोडल बजारमा ल्याएको छ । ओला एस वान् र एस् प्रो । भारतमा अहिले सर्वाधिक बिक्री र चर्चामा केही छ भने, यही ओला छ । 

पुस २४, २०७८ मा क्यापिटल नेपाल अनलाइनमा प्रकाशित ।

  • Share:

You Might Also Like

0 comments