'भर्टिकल फार्मिङ' मार्फत कृषिमा क्रान्ति ल्याउँदै भारतीय कम्पनी एएस एग्री, नेपालमा पनि विस्तार हुँदै

By Meenraj Basanta - 4:03 AM

 


जनसंख्या बढ्दो क्रममा छ । तर, भूमि ज्युँका त्यूँ । तीव्र रूपमा बढिरहेको सहरीकरणका कारण धेरैजसो खेतीयोग्य जमिन मासिँदै गइरहेको छ । खेती गर्नेहरूले पनि परम्परागत शैली नै पच्छ्याइरहेका छन् । जसले गर्दा सोचेको जस्तो उत्पादन हुन सकेको छैन । र, उत्पादित वस्तुले पनि राम्रो बजारभाउ पाइरहेको छैन । 

यी सबै समस्यालाई सम्बोधन गर्न एएस एग्री एन्ड अक्वा एलएलपी कम्पनीले भर्टिकल फार्मिङको अवधारणा ल्याएको छ । 

के हो भर्टिकल फार्मिङ ? 

सन् २०१८ मा भारतमा स्थापित यो कम्पनी हाइटेक सोइल बेस्ड भर्टिकल फार्मिङ (माटोमा आधारित ठाडो खेती) हो । यसको मुख्य लक्ष्य र उद्देश्य भनेको कृषिमा नयाँ तौरतरिका अपनाउँदै किसानलाई आत्मनिर्भरता, अतिरिक्त मूल्य र स्वतन्त्र जीवन प्रदान गर्नु हो । 

भारतका सबैजसो स्टेटमा एएस एग्रीले भर्टिकल फार्मिङ गर्दै आइरहेको छ । जुन पोली हाउसभित्र गरिने वेदर प्रुफ फार्मिङ हो । पोली हाउसभित्र र वेदर प्रुफ फार्मिङ भएकाले सुरक्षित पनि हुने कम्पनीका पार्टनर तथा प्रोडक्सन एन्ड टेक्सटायल मेसिनरी एक्सपर्ट सुरिन्दर धिमानले क्यापिटल नेपालसँगको विशेष कुरानीमा बताए । 

प्राविधिक रूपमा अविकसित बेसार खेतीलाई विकसित गर्ने उद्देश्यका रूपमा कम्पनी सुरु भएको थियो । यद्यपि भारतीय किसानको जीवनशैली र जीवनस्तर उकास्दै सुनिश्चित भविष्य निर्माणका लागि अहिले यसले काम गरिरहेको छ । भर्टिकल फार्मिङ एउटा यस्तो प्रविधिजन्य कृषि हो जसमा ८५ प्रतिशत कम पानी, ८५ प्रतिशत नै कम श्रम र ९९ प्रतिशत कम भूमि आवश्यक पर्छ । उत्पादन भने ५० देखि ६० प्रतिशसम्म अधिक हुन्छ । 

सामान्यतया एउटा एउटा किसानले १०० हेक्टर जमिनमा जति उत्पादन गर्छ, भर्टिकल फार्मिङ गर्दा १ हेक्टरमा १०० हेक्टरबराबर नै उत्पादन हुने धिमान बताउँछन् । 

‘उदाहरणका लागि कुनै व्यक्तिले एउटा सामान्य घर बनाउँछ । त्यसमा केवल उसको सीमित परिवार मात्रै अट्छ । तर, यदि कसैले १० तलाको बिल्डिङ बनाउँछ भने त्यसमा धेरैभन्दा धेरै परिवार वा मानिस अट्छन् । भर्टिकल फार्मिङको अवधारणा पनि यही हो । यसभित्र ६ लेयरको स्ट्रक्चर हुन्छ । र, अर्को कुरा यसमा एउटै बाली धेरैपटकसम्म उब्जनी हुन्छ । तर, कुन बाली (क्रप्स) हो भन्नेले पनि अर्थ राख्छ’ धिमानको भनाइ छ । 

धेरै बालीमा काम गरिरहेको कम्पनीले विशेषगरी बढी आम्दानी हुने बालीलाई फोकस गरेको छ । अहिले कम्पनीले बेसार, सोयाबिन, सखरखण्ड लगायतमा काम गरिरहे पनि उसको फोकस विशेषगरी बेसारमा छ । 

त्यसो त प्रायःजसो किसानहरूको खेतीबाली प्रकृतिमा निर्भर छ । खेतमा लगाएको बालीमा कहिले असिना बर्सिन्छ त कहिले कीरा लाग्छ । यो वा त्यो कारणले बाली नष्ट हुने त्रास सधैं रहिरहन्छ । तर, भर्टिकल फार्मिङमार्फत ‘प्रोटेक्टिभ वे’ बाट उत्पादन गर्दा एक त उत्पादनमा बढोत्तरी हुन्छ भने अर्को कुरा नष्ट हुने सम्भावना पनि न्यून हुन्छ । यस्तो खालको फार्मिङ सानादेखि ठूला किसानहरूले गर्न सक्ने एएस एग्री एन्ड अक्वा बताउँछ । 

भारतमा कसरी काम गरिरहेको छ त ?

भर्टिकल फार्मिङ विभिन्न मुलुकमा सञ्चालन भइरहेको छ । तर, भारतको कुरा गर्दा त्यहाँको सरकारले किसानलाई स्किम दिन्छ । सो स्किमलाई अट्याच गर्दै कम्पनीले ती किसानहरुसँग काम गरिरहेको छ । 

यस्तै किसानको बैंक लोन आदि तिर्न पनि कम्पनीले सहयोग गर्दै आइरहेको छ । यसका साथै विभिन्न समयमा किसानलाई कृषिसम्बन्धी तालिम पनि दिने गरेको छ । 

सबै किसानको  जमिन समान हुँदैन । कुनै किसानको थोरै त कुनैको धेरै हुन्छ । कम्पनीले ती सबै किसानलाई एकत्रित गरी एउटा–एउटा एसोसिएसन बनाइदिन्छ । र, एउटा प्रोजेक्ट दिन्छ । समग्रमा यो एकीकृत प्रोजेक्ट बन्न जान्छ ।

धिमानका अनुसार प्रोजेक्टबाट उत्पादित सामान प्रोसेसिङ, प्याकेजिङ र फरवार्डिङको काम पनि एएस एग्रीले नै गरिदिने गरेको छ । उत्पादनलाई स्थानीय बजारमा बेच्ने र निर्यात पनि गर्ने काम कम्पनीले नै गरिदिन्छ । जसमा भ्यालु एडिसन पनि हुन्छ ।

‘यसरी किसानहरू जोडिँदा उनीहरुलाई एक्स्ट्रा इनकम पनि हुन्छ’, कम्पनी भन्छ, ‘उनीहरूले आफ्नो तरिकाले आफ्नै खेतीपाती पनि गर्न सक्छन् । तर, हामीले प्रोटेक्टिभ वेमा काम गर्दा एस्योर्ड इनकम किसानलाई नै हुन्छ ।’

‘उदाहरणका लागि कुनै ठाउँमा किसानले टमाटर खेती गर्न थाले । त्यो देखेर अन्य किसानले पनि सोही खेती गर्न थाल्छन् । यसो गर्दा उत्पादन र सप्लाई बढ्छ । उक्त उत्पादनलाई भ्यालु एडिसन गर्न हामीले टमाटरका विभिन्न चिजबिज बनाउँछौं । त्यसलाई बजारमा बेच्दा त्यसको भ्यालुएसन बढ्छ । र, त्यो किसानले पाउँछन् । उनीहरुलाई आत्मविश्वास बढ्छ । सँगै आत्मनिर्भर हुन सक्छन्’ धिमान भन्छन् । 

जुन बालीको हाई भ्यालु रिटर्न आउँछ त्यसको मात्रै पोली हाउसभित्र खेती कम्पनीले गर्दै आइरहेको छ । अहिले १०० जति बालीमा काम गरिरहेको छ । त्यसमध्ये बेसारका मात्रै ६ प्रडक्ट छन् । यस्तै त्यहाँको उत्पादन विश्वका १६ देशमा निर्यात भइरहेको छ । 

कम्पनीका अनुसार अहिले भारतमा मात्रै १ लाख किसानहरु एएस एग्री एन्ड अक्वासँग जोडिएका छन् । जम्मुकस्मीरमा मात्रै ५० हजार किसान कम्पनीसँग जोडिएका छन् । यसबाहेक राजस्थान, मध्यप्रदेश, कानपुरका किसानले यसै कम्पनीअन्तर्गत उत्पादनको काम गरिरहेका छन् । 

यस्तै एएस एग्रीले मल्टिपल टाइम आउटपुट निकाल्ने ल्यान्ड बेस्ड फिसिङ पनि गरिरहेको छ । कतार र दुबईमा बालुवामाथि पनि फार्मिङ गरिरहेको उनको भनाइ छ । 

सोइल बेस्ड भर्टिकल फार्मिङले उत्पादन त बढाउँछ नै । त्यसबाहेक किसानलाई अतिरिक्त मूल्य पनि प्रदान गर्छ । किसानको मिहिनेतलाई अलिकति प्रविधिसँग जोडेर ब्रान्डिङ गरी बेच्दा बजारमा राम्रो लिंकेज प्राप्त हुने र यसरी काम गर्दा किसानले आजीवन सुविधा पाउने धिमानले बताए ।

कस्ता व्यक्तिहरू छन् त कम्पनीमा ?

एएस एग्री हाँक्ने व्यक्तिहरू आफैंमा ‘एक्सपर्ट’ अर्थात् एक–से–एक छन् । मिडियादेखि टेक्नोलोजी, इन्जिनियरिङ फिल्डमा लामो अनुभव सँगालेका दिग्गहरुले यसलाई लिड गरिरहेका छन् । विभिन्न पेसा र क्षेत्रमा छरिएका यिनीहरु भर्टिकल फार्मिङका लागि एकै ठाउँमा जुटेका छन् । 

नेपालमा पनि यो प्रविधि भित्र्याइँदै 

ओमन, युएई, कतार, बेलायत, अमेरिका र श्रीलंकापछि भर्टिकल फार्मिङ छिटै नेपालमा पनि सुरु हुँदैछ । वीरगन्ज निवासी २५ वर्षे केशव सरावगीले छिटै यसको सुरुवात गर्दैछन् । 

अध्ययन सकेर क्यानडाबाट फर्किएका सरावगी भर्टिकल प्रविधिबाट गरिने खेतीका बारेमा बुझ्न भारतको सो कम्पनीमा पुगेका थिए । 

नेपालजस्तो मुलुकमा यो प्रविधि उपयुक्त हुने उनको भनाइ छ । उनले वीरगंजमा भारतीय कम्पनीसँग मिलेर पहिलो चरणमा बेसार खेती गर्ने तयारी थालिसकेका छन् । 

माघ १७, २०७८ मा क्यापिटल नेपालमा प्रकाशित ।

  • Share:

You Might Also Like

0 comments