सन् २०२४ का लागि सुरक्षित १५ गन्तव्य

By Meenraj Basanta - 6:02 AM



मीनराज बसन्त । मानिसका अनेक रुचिमध्येको एउटा रुचि हो, पर्यटन । पर्यटन अर्थात् देश–देशावर घुम्नु । प्रकृतिसँग सन्निकट हुनु, जीवन र जगत् बुझ्नु । आफ्नो समयअनुकूल बनाई देश–विदेश घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । विश्वमा प्रत्येक वर्ष करोडौँ मानिस पर्यटक बनी घुम्न निस्कन्छन् । यिनैलाई लक्षित गरी पर्यटन उद्योग सञ्चालनमा छ । 

कुनै पनि ठाउँ घुम्न निस्किँदा सबैभन्दा पहिले सम्बन्धित देशको सुरक्षामा चुनौती आउँछ । यसलाई आधार बनाएर मानिस देश–विदेशको यात्रा गर्छन् । यसैलाई मध्यनजर गर्दै बर्कसायर हाथवे ट्राभल प्रोटेक्सनले सन् २०२४ मा घुम्न सुरक्षित १५ गन्तव्यको सूची सार्वजनिक गरेको छ । 

रिपोर्टमा भनिएको छ, ‘यात्राका लागि सुरक्षित स्थान सुन्दा सामान्य लाग्छ । यद्यपि, समय सँगसँगै सुरक्षित गन्तव्यको परिभाषा परिवर्तन भएको छ । हाम्रो शोधअनुसार सुरक्षित स्थान त्यो थियो, जुन धेरै हदसम्म आतंककारी गतिविधिबाट मुक्त थियो । त्यसपछि बीचमा कोभिड महामारी आयो । त्यसले प्राकृतिक प्रकोपमुक्त गन्तव्य बनायो । र, अहिले सबै प्रकारका मानिस विनाभेदभाव या उत्पीडन स्वतन्त्र रूपमा घुम्न सक्नु नै सुरक्षित स्थान हुन् ।’

रिपोर्टमा सार्वजनिक भएका १५ सुरक्षित गन्तव्यमध्ये पहिलो नम्बरमा क्यानडा छ । धेरै सुरक्षित देशको सूचीमा युरोपेली देश छन् । यद्यपि, सबभन्दा सुरक्षित देश भने क्यानडा बनेको छ । क्यानडापछि दोस्रोमा स्विट्जरल्यान्ड र तेस्रोमा नर्वे छ । त्यसपछि क्रमशः चौथो आयरल्यान्ड, पाँचौँ नेदरल्यान्ड्स, छैटौँ बेलायत, सातौँ पोर्चुगल र आठौँ गन्तव्य देशमा डेनमार्क छ । त्यसैगरी, नवौँमा आइसल्यान्ड, १०औँ अस्ट्रेलिया, ११औँ न्युजिल्यान्ड, १२औँ जापान, १३औँ फ्रान्स, १४औँ स्पेन र १५औँ नम्बरमा ब्राजिल रहेका छन् । 

सुरक्षित गन्तव्यको परिभाषा विकसित भएसँगै विश्वका सुरक्षित स्थान पनि विकसित भएका छन् । स्वतन्त्र ढंगले घुम्न पाउनु, रोगमुक्त रहनु र गम्भीर मौसमी घटनाबाट सुरक्षित रहने गन्तव्य बर्कसायरले खोजेको छ । स्टेट अफ ट्राभल इन्स्योरेन्स रिसर्चका आधारमा बर्कसायरले पर्यटकका लागि १५ सर्वाधिक सुरक्षित गन्तव्य तोकेको बताएको छ । 

रिपोर्टमा सार्वजनिक भएका १५ सुरक्षित गन्तव्यमध्ये पहिलो नम्बरमा क्यानडा छ । धेरै सुरक्षित देशको सूचीमा युरोपेली देश छन् । यद्यपि, सबभन्दा सुरक्षित देश भने क्यानडा बनेको छ । क्यानडापछि दोस्रोमा स्विट्जरल्यान्ड र तेस्रोमा नर्वे छ । त्यसपछि क्रमशः चौथो आयरल्यान्ड, पाँचौँ नेदरल्यान्ड्स, छैटौँ बेलायत, सातौँ पोर्चुगल र आठौँ गन्तव्य देशमा डेनमार्क छ । त्यसैगरी, नवौँमा आइसल्यान्ड, १०औँ अस्ट्रेलिया, ११औँ न्युजिल्यान्ड, १२औँ जापान, १३औँ फ्रान्स, १४औँ स्पेन र १५औँ नम्बरमा ब्राजिल रहेका छन् । 

बर्कसायरले सार्वजनिक गरेको सुरक्षित गन्तव्यको सूचीमा युरोपेली देश धेरै छन् । दोस्रो नम्बरको स्विट्जरल्यान्डदेखि नवौँ आइसल्यान्डसम्मका क्षेत्र युरोपेली देशभित्र पर्छन् । त्यसबाहेक १३औँ फ्रान्स र १४औँ नम्बरको सुरक्षित गन्तव्य देश स्पेन पनि युरोपभित्रै पर्छन् ।

युएई बाहिरियो, पोर्चुगलसहित चार देश सूचीमा

बर्कसायरले सन् २०२३ का लागि पनि २०२२ मा १५ सुरक्षित गन्तव्य देशको सूची सार्वजनिक गरेको थियो । सो सूचीमा पहिलोमा नेदरल्यान्ड्स थियो । त्यसपछि क्रमशः डेनमार्क, आइसल्यान्ड, अस्ट्रेलिया, नर्वे, क्यानडा, जर्मनी, स्विडेन, स्विट्जरल्यान्ड, न्युजिल्यान्ड, स्पेन, आयरल्यान्ड, युएई, बेलायत र बेल्जियम थिए । 

तर, सन् ०२३ का लागि सुरक्षित देशमध्ये पहिलो स्थानमा रहेको नेदरल्यान्ड्स ०२४ का लागि पाँचौँ स्थानमा छ । त्यस्तै, गत वर्ष दोस्रो नम्बरमा रहेको डेनमार्कको स्तर खस्किएर अहिले आठौँ नम्बरमा पुगेको छ । गत वर्ष शीर्ष १५ को सुरक्षित गन्तव्यको सूचीमा रहेका युनाइटेड अरब इमिरेट्स (युएई) यो वर्ष पर्न सकेन ।

त्यस्तै, पोर्चुगल, फ्रान्स र ब्राजिल आगामी वर्षको गन्तव्यमा नयाँ देशका रूपमा थपिएका छन् । बर्कसायरको सूचीमा एसियाबाट यसपटक जापानले बाजी मारेको छ । सन् २०१६ देखि निरन्तर पर्यटक शोध गर्दै आएको बर्कसायरले सुरक्षित गन्तव्य देशबाहेक हिंस्रक अपराधमुक्त, आतंककारीबाट सुरक्षित, यातायात सुरक्षा, स्वास्थ्य मापनलगायतका शीर्षकमा पनि विभिन्न गन्तव्यको छनोट गरेको छ । 

विश्वभर कति मानिसले यात्रा गर्छन् ?

विश्व पर्यटन संगठनका अनुसार गत वर्ष विश्वभर नौ करोड ६० लाखभन्दा बढीले यात्रा गरे । त्यस्तै, यो वर्षको पहिलो तीन महिनामा दुई करोड ३५ लाखभन्दा बढी पर्यटकले यात्रा गरेका छन्, जुन गत वर्षको पहिलो तीन महिनाको तुलनामा झन्डै दोब्बरले बढी हो । अर्थात्, कोभिडपूर्वको दुईतिहाइ (६६ प्रतिशत) रिकभर भएको संगठनको तथ्यांक छ । 

१६ मंसिर, २०८० नयाँ पत्रिकामा प्रकाशित ।

  • Share:

You Might Also Like

0 comments